चलचित्र बनाउन थालेको बीस वर्ष नाघ्यो । दसभन्दा बढी चलचित्रका निर्माता हुन् उनी । चलचित्र उद्योगीबीच 'निर्माता' को राम्रै दर्जा मिले पनि छवि ओझाको र्सार्वजनिक 'छवि' भने 'नायिका रेखा थापाको पति' मा सीमित भएको छ । उनलाई 'हिरोइनको पति' भन्नेहरूसँग कुनै गुनासो त छैन । तर, श्रीमतीको लोकप्रियतासँगै आफ्नो व्यावसायिक परिचय पुरिँदै गएकामा भने निकै अचम्म लागेको छ उनलाई । श्रीमतीको लोभलाग्दो सफलता प्रति इर्ष्य छैन । उमेरको अन्तरले पनि यसो भएको हुनसक्ने उनको आफ्नै निष्कर्षछ । रेखाभन्दा १५ वर्षजेठा छन् छवि । त्यसैले पनि रेखाको लोकप्रियताले उनलाई जलाउ“दैन । 'प्रतिस्पर्धी हैन, मलाई त उनी बच्चीजस्ती लाग्छिन् । आफैंले यो लाइनमा ल्याएकाले पनि हरेक सफलताका लागि सकेको सघाएको छु,' भन्छन् उनी । रेखाको सफलतामा आफू मात्र होइन परिवार र नातेदारसमेत खुसी भएको छविले सुनाए । उनको ८५ वर्ष कटेकी आमाले दुइ पटक भेटिन् रेखासँग । 'यस्तै हो बाबु फिल्म खेल्नेसँग बिहे गरिस् । घरमा समय दिइन भनेर पीर नगर्नू ।' श्रीमतीका बारे आमाको यो प्रतिक्रिया सुनेपछि भने उनलाई खुसी लाग्यो । किनकि, उनलाई ठूलो डर भनेकै आमाको प्रतिक्रियाको थियो । दिदी र श्रीमतीबीच त एकदमै आत्मीयता देखेका छन् उनले । 'दिदी अत्यन्त माया गर्नुहुन्छ । रेखा पनि दिदी आइरहे हुन्थ्यो भन्ने चाहन्छिन् ।' आफ्नो मान्छेलाई सम्मान गर्ने रेखाको स्वभावको पनि खुलेरै सम्मान गर्छन् उनी । रेखाको व्यवहारले 'हिरोइनसँग बिहे गरिस्, घर भाँडिन्छ' भन्नेहरूको मुख टालिएकोमा उनी दंग छन् । 'बरु मैसँग पो झगडा गरेर हैरान पार्छिन्,' उनले लुकाउन खोजे, 'तर निजी मामिलामा भने हैन है ।' यी दुइ कति झगडा गर्छन् त्यसो त जगजाहेर नै छ । छायांकनस्थलदेखि कार्यक्रमहरूमा समेत खुलेआम 'डिसकस' हुन्छ उनीहरूको । यस्तै डिसकसका कारण एक महिनाभन्दा बढी समयसम्म आफूहरू नबोलेको छविले लुकाएनन् । रेखाले मिडियामा जथाभावी बोलेको, जहाँ पायो त्यहाँ खाएको र मान्छे नचिनी विश्वास गरेको छविलाई मन पर्दैन । 'र, यही नै हो झगडाको बीउ,' भन्छन् उनी । रेखाको बानी र त्यसले व्यावसायिक जीवनमा पुर्याउने असरबारे धेरै नै सजग छन् छवि । उनी भन्छन्, 'मैले उनको व्यक्तिगत जीवनमा कहिल्यै पनि हस्तक्षेप गरेको छैनँ ।' उनलाई न हिरोइनको पति हुनुमा ठूलो गर्व छ न त एउटा गृहिणी पत्नीको भूमिकालाई रेखाले पूरा गर्न नसकेकामा गुनासो । रेखा पेसाप्रति जति उत्तरदायी छिन्, घरव्यवहारमा त्यसको ठीक विपरीत छिन् । घरमा कस्तो भूमिका देखाउने हो भन्ने उनको 'मुड' मा भर पर्छ । यस मामिलामा छविले उनलाई बाध्य बनाएका पनि छैनन् । उनलाई घरको काम नगर्ने छुट पनि छ । छविलाई रेखाले पकाएको मासु खुब मन पर्छ । त्यसैले कहिलेकाहीं रेखालाई फुर्क्याएर पकाउन अघि सार्छन् उनी । फेरि उनलाई डर पनि लाग्छ, 'कतै तातो भाँडोले उनको हात पोल्ने पो हो कि भनेर ।' रेखाले तरकारी काट्दा हात काट्ने हो कि भनेर आफैं चुलेसी समात्न पुगेको पनि उनले सुनाए । दसैंपछि उनले रेखासँगै खाना खान पाएका छैनन् । अरू बेलामा जति व्यस्त भए पनि खाना सँगै खान पाए हुन्थ्यो भन्ने छविको चाहना हो । 'तर, के गर्नु कहिले रातभरिको सुटिङले उनी दिनभरि सुत्छिन् । कहिले बिहानै सुटिङमा जानुपर्छ । त्यसैले यो संभव भएको छैन ।' दसैंमा चाहिं रेखाबाट साँच्चै 'हाउस वाइफ' को अनुभूति गर्छन् छवि । किनकि, त्यसबेला सिनेमाको काम पनि हुँदैन र घरमा पनि यी दुइ मात्र हुन्छन् । यस समयमा भने आफूले खाना बनाउने र रेखाले भाँडा माझ्ने गरेको उनले बताए । 'कामको यो बाँडफाँड पनि रेखाकै रोजाइमा भएको हो,' छविले भने । उनले रेखालाई १५ लाख हालेर गाडी किनिदिएका छन् । प्रसिद्धि कमाउँदै गएपछि यसको आवश्यकता देखेर । अनि आफूचाहिं पुरानै स्प्लेन्डर मोटरसाइकलमा दगुर्छन् । रेखाले चलाएको गाडी चढ्ने भनेको एउटै कार्यक्रम र पार्टी जाँदा मात्र हो । एउटी व्यस्त हिरोइनका श्रीमान् हुँदा केही कुरामा शान र केही कुरामा सम्झौता झेलेका छन् छविले । उनले पत्नीलाई स्वतन्त्र छोडिदिएका छन् । उनको सफलतामा अवरोध खडा नहोस् भनेर । कुरा गर्दागर्दै उनले एउटा अभाव भने लुकाउन सकेनन् । रेखाबाट पूरा नभएको पारिवारिक दायित्वको । एकदिन रेखाले पूरै पारिवारिक दायित्व सम्हाल्ने र घरमा समय दिने 'समय' को पर्खाइमा छन् उनी । 'सायद बच्चा भएपछि यो चाहना पूरा हुन्छ होला कि' भन्ने लाग्छ छविलाई । त्यसो भए त्यो समय कहिले आउला त भनी प्रश्न गर्दा उनले सबै कुरा रेखाकै हातमा रहेको बताए । 'रेखाजीले अहिल्यै भने पनि म त ओके ।' रेखाभन्दा निकै जेठा छविलाई सायद छिटै बाबु हुन मन लागेको छ जस्तो छ ।
0 Comments:
Post a Comment