Google
Free Image Hosting

Tuesday, February 26, 2008

संकटमा नायिकाहरूको दाम्पत्यजीवन

काठमाडौं । चलचित्रमा आदर्श नारीका रुपमा प्रस्तुत हुने कैयौं नायिकाहरु स्वयंको घरबार सुध्रन सकेको छैन। दाम्पत्य जीवनमा बाँधिएको केही वर्ष नबित्दै यी नायिकाहरुको डिभोर्स हुने क्रम बढेको छ। तीन वर्षयता नायिकाहरु मौसमी मल्ल, गौरी मल्ल, पूजा चन्दलगायतले दाम्पत्य सम्बन्धबाट हात झिकिसकेका छन्। यीबाहेकका नायिकाहरुको पनि दाम्पत्य सम्बन्धविच्छेदको क्रम बढिरहेको छ। त्यस्तै दुई नायिकाहरु जल शाह र संचिता लुइँटेल पनि पारपाचुकेको तयारीमा पुगेको समाचार सार्वजनिक भएको छ। गत वर्षमात्र एक आवासीय नेपालीसँग धुमधाम विवाह गरेर अमेरिका बस्दै आएकी नायिका जल शाहको दाम्पत्यजीवनमा निकै किचलो चर्किएको खबर छ। तीन छोरीका पितासँग विवाह गरेकी जलले हालै छोरी पाएकी छन्। जलको विवाहमा अमेरिका पुगेकी उनकी आमा प्रेमा शाह पनि छोरीसँगै अमेरिकामै बस्दै आएकी छन्। सासू र ज्वाइँबीचको झैं–झगडाले आफू जलसँग बस्न नसक्ने उनका श्रीमान्ले बताएको समाचार छ। हाल नेपालमा रहँदै आएका जलका श्रीमान् दाम्पत्य सम्बन्धविच्छेदको तयारीमा रहेको उनका परिवारले बताएका छन्। यसबारेमा जल शाहका पक्षबाट कुनै प्रतिक्रिया आएको छैन। नायिका जलका आमाछोरीले दाम्पत्य जीवन राम्रो चलेको कुरा नेपालस्थित आफन्तहरुलाई बताएका छन्। उता नायिका संचिता लुइँटेलको ६ वर्ष लामो दाम्पत्य सम्बन्ध पनि टुट्ने अवस्थामा पुगेको छ। पति आकाश शाहसँग आफूले पारपाचुके गर्न लागेको नायिका लुइँटेलले बताएकी छन्। कलाकार बन्नकै लागि संचिताका पति आकाश केही वर्षदेखि मुम्बईमा संघर्ष गर्दैछन्। आकाशलाई कलाकार बनाउन उनी पनि रातदिन लागिपरिरहेकी छन्। तर पनि पछिल्लो समयमा यी दम्पतीको सम्बन्ध एकाएक चिस्सिएको खबर छ। आफूहरुको दाम्पत्य सम्बन्ध अब अगाडि बढ्न नसक्ने खबर संचिताले सार्वजनिक गरिसकेकी छन्। पारपाचुकेका लागि श्रीमान् राजी नभए पनि उनीसँग आफू बस्न नसक्ने भनाइ संचिताको छ। दाम्पत्य जीवनलाई अब अगाडि बढाउन नसक्ने भन्दै उनले पारपाचुकेको कानुनी प्रक्रिया अगाडि बढाइरहेकी छन्। त्यसो त उनको पारपाचुके भइसकेको खबर बाहिर आएको धेरै भइसक्यो। त्यो खबरको खण्डन गर्दै यतिबेला भने आफू दाम्पत्य सम्बन्धविच्छेदको निष्कर्षमा पुगेको उनले बताएकी छन्। उनका पति आकाश शाहले आफूहरुबीच सम्बन्ध नबिग्रिएको बताएका छन्। उनी सम्बन्धविच्छेदको पक्षमा छैनन्। यस विषयमा चाँडै सञ्चारकर्मीलाई प्रस्ट पार्ने पनि उनले बताएका छन्। यसरी नायिका जल शाह र नायिका संचिता लुइँटेलको दाम्पत्यसम्बन्ध बिग्रँदै गएको खबरले सिंगो नेपाली चलचित्र उद्योग यतिबेला दुःखी बनेको छ। कुनै पनि नेपाली कलाकारहरुको दाम्पत्यसम्बन्ध नबिग्रियोस् भन्ने आमसिनेकर्मी चाहन्छन्।

0 Comments:

 

© Deependra | Deependra