वितरकले झुक्याएर ७५ हजार खाइदिएपछि निखिल उप्रेती निराश छन् रोबाट हौसिएपछि निखिल उप्रेती निर्माता बने । तर, उनलाई लाग्न थालेको छ, 'यो कलाकारले अपनाउने पेसा होइन रहेछ ।' निर्मातामाथि वितरकबाट शोषण हुने कुरा उनले पहिलो चलचित्र 'सावधान'बाट बुझेको बताए ।।उनी पहिलो सिकार सुनील मानन्धरबाट भएको बताउँछन् । भन्छन्, 'मलाई नसोधी मेरो चलचित्र भारतका विभिन्न सहरमा चलाए । थाहा पाएपछि न्याय खोज्दै हिँडेको छु । तर, अझै मिलेको छैन ।'।।वितरक मानन्धरले यो घटनाको दोष अशोक क्षेत्रीलाई लगाएका छन् । तर, उनी सम्पर्कमा नभएकाले निखिललाई दोषी पत्तालगाउन गाह्रो परेको छ । यसमा आफू ठगिएको सम्झने निखिलमाथि फेरि धोका भएको छ । अर्का वितरक मनोज राठीले उनको चलचित्र 'सावधान' मलेसियाका लागि दुई लाख रुपैयाँमा बेचे पनि आफूलाई एक लाख २५ हजार रुपैयाँ मात्र दिएको उनले पत्तालगाएका छन् । 'कसलाई दोष दिनु खै ! आफै अनविज्ञ हुनुको उपज हो यो,' निखिललाई नरमाइलो लागेको छ आफ्नै साथीहरूले धोका दिएकोमा । 'एउटा निर्माताका लागि ७५ हजार रुपैयाँ ठूलो रकम हो । मनोज राठीले एक्लै खाए,' भन्छन् उनी । ।।'चलचित्र उद्योगमा यस्तो नियत भएकाको बिगबिगी छ' भन्न पनि पछिपरेनन् निखिल । लप्पन-छप्पन गर्न नजानेकाले सिनेमा बनाउने आकांक्षा नराखे हुन्छ भन्ने उनको सुझाव छ । चलचित्र खेलेर कमाएको पैसा चलचित्र बनाएर गुमाएँ भन्ने नायक उप्रेतीलाई सिनेमा निर्माण मोह घट्न थालेको छ । 'एक्लै बोलेर के हुन्छ र ? यहाँ अन्यायमा परेकाहरू पनि बोल्ने आँट गर्दैनन् । झगडा गरेर सिनेमा बनाउनुभन्दा छाड्नै जाति' भनेर घुर्की लगाए पनि उनी दोस्रो चलचित्र 'निशाना'को निर्माणमा व्यस्त छन् । यसपछि चलचित्र निर्माणमा लाग्दिनँ भन्ने उप्रेतीले सो चलचित्रमा खारिएका निर्माता वसन्तकुमार श्रेष्ठको साथ पाएकाले जाँगर चलाएको बताए ।
0 Comments:
Post a Comment