प्रतिलिपि अधिकार हनन्का कारण चलचित्र र संगीत उद्यमीहरू आजित भएका छन् । यसलाई कसरी रोक्ने भन्ने विषयमा बेलाबखत कार्यक्रम त भएकै हुन् । तर, रंगेहात समातेको अपराधीलाई समेत मन्त्रीको ठाडो आदेशमा छोडेको देखेका गायक रामकृष्ण ढकाललाई शंकै छ, 'खै, पाइरेसी कसरी रोकिएला ?' पाइरेसीकै कारण सफल गायक/गायिकाको आर्थिक पक्ष साह्रै असफल रहेको दुःखेसो छ गायिका कोमल वलीको । लोकगायक बद्री पंगेनीको आक्रोश छ, 'सदियौंदेखि कलाकारलाई फूल सम्झिएर कानमा सिउरिने, आइलिएपछि फालिदिने प्रवृत्ति छ ।' उदाहरण स्वर्गीय गायक झलकमान गन्धर्वलाई देखाए, 'हेनुस् त करोडौंका प्रिय गायकको दाहसंस्कार मलामीसँग पैसा उठाएर गर्नुपर्यो ।' पाइरेसी नरोकिए धेरैको हबिगत त्यस्तै हुन सक्ने अन्दाज लागाए उनले ।।।सर्जकलाई साह्रै सताएको यो समस्या अन्तर्राष्ट्रियजगत्मै टाउको दुःखाइको विषय बनेको छ । चलचित्र विकास बोर्डका अध्यक्ष ईश्वरचन्द्र ज्ञवाली सिधै भन्छन्, 'नियन्त्रण गर्ने ऐन नै गतिलो भएन ।' पाइरेसी रोक्न नयाँ ऐनको खाँचो देख्ने ज्ञवाली यसमा उत्पादकको पनि दोष देख्छन् । 'नक्कली सिडी बीस रुपैयाँमा पाइन्छ, सक्कली किने दुई सय पचास । अनि, कसले किन्छ सक्कली,' उनले मूल्य निर्धारणमा पुनर्विचार गरे पाइरेसी घट्ने सम्भावना देखाए । ।।समस्या जटिल छ । तथापि, समाधानको कदप नचाली बस्ने कुरा पनि त भएन । प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयलाई नयाँ 'आइडिया' फुरेको छ । एउटा डकुमेन्ट्री बनाउने । यस्तो सोच उब्जिएपछि सो कार्यालयले जाने बुझेका केहीलाई आफ्नो कार्यालयमा बोलायो । बहसको विषय थियो 'डकुमेन्ट्री कस्तो बनाउने ?' बोल्न पाएपछि के चाहियो, सबैले आ-आफ्नो 'कन्सेप्ट' सुनाए । डकुमेन्ट्री नै पाइरेसी रोक्ने अचुक उपाए हो कि हैन भन्नेबारेमा खासै छलफल भएन । अधिवक्तादेखि गायक, कलाकार सबैको ध्यान 'फम्र्याट' ले तान्यो । मानौं, सहभागी सबैलाई क्यामेरा दिएर पठाए एक दर्जन डकुमेन्ट्र सजिलै बन्छ । ।।निर्माता संघका अध्यक्ष अशोक शर्मा, निर्देशक नवीन सुब्बा, कम्प्युटर एसोसिएसन नेपालका अध्यक्ष विप्लवमान सिंह, पर्शुराम कोइराला, डा. बलबहादुर मुखिया, प्रा.डा. पदमप्रसाद देवकोटा आदिको सोच सुनेपछि लेखनको अभिभारा सम्हालेका नयनराज पाण्डे र निर्देशक क्रन्दन चापागाईँलाई कस्तो डकुमेन्ट्री बनाउने भन्ने कुराले दिमाग घुमाएको हुनसक्छ । तर, राजिस्ट्रार जन्मजय रेग्मीले भने पाइरेसीको विषयमा सचेतना जगाउनेखालका सामग्री निर्माण गर्ने नै आफ्नो कार्यालयको उद्देश्य रहेको सुनाए ।
0 Comments:
Post a Comment