Google
Free Image Hosting

Wednesday, April 9, 2008

म तिमी बिना मरिहाल्छु नि !

नाइँ नाइँ मैले तपाइँलाई भनेको होइन । मेरो र तपाइँको मायाप्रीति त्यसो विघ्न मूर्खतापूर्ण छैन ।
बरु यो त हाम्रा नायक भुवन केसी र नायिकाद्वय सुस्मिता केसी र झरना थापालाई यसका बारेमा सोध्नुस् किनभने यो भन्ने चाहिँ उनीहरु नै हुन् ।
त "म तिमी बिना मरिहाल्छु" चलचित्रको अहिलेको सबैभन्दा रोचक पक्ष भनेको यस चलचित्रका गीत छन् । मेलोडी किङ भनेर चिनिएका शम्भुजीत बासकोटाले पछिल्लो समय सबैभन्दा मिठा गीत दिएको निर्माता भुवन केसीको दाबी छ ।
अब त्यो दाबी कत्तिको सत्य हो भन्ने तपाइँलाई लाग्छ भने केही व्यक्तिलाई फोन घुमाउनुहोस् । जस्तो कि सङ्गीतकार शम्भुजीत बासकोटा, नायक भुवन केसी, नायिकाद्वय झरना थापा र सुस्मिता केसी, गायक आनन्द कार्की, गायिका अञ्जु पन्त आदि आदि । अब यतिले मात्र तपाइँको चित्त बुझेन भने चलचित्र निर्देशक दयाराम दाहाललाई फोन लगाउनुहोस्, उनको मोबाइलले पनि आनन्द कार्की र अञ्जु पन्तको स्वर रहेको "म तिमी बिना मरिहाल्छु" भन्न थालिहाल्छ । अरु त अरु नवनायिका अर्पणा सिंह, सङ्गीतकार कमलकृष्णका मोबाइलले पनि सोही गीत घन्काउन थालिहाल्छन् ।
अझै पनि तपाइँलाई चित्त बुझेन र भन्नुहोला- यी त सबै फिल्ममा संलग्न व्यक्ति भइहाले नयाँ कुरा के भयो र ? आफू संलग्न फिल्मको गीत त जसले पनि रिङ ब्याक् टोन बनाइहाल्छ नि !
अब तपाइँ फोन लगाउनुहोस्, अर्का चलचित्र निर्देशक शोभित बस्नेतको मोबाइलमा । उनको मोबाइलले पनि यही गीत केहीबेर घन्काइसकेपछि मात्र मोबाइलधनीले मोबाइल उठाउने छन् ।
किन त यस्तो ? "गीत नै यति राम्रो छ कि केही जसले यो गीत सुन्यो उसले नै रिङ ब्याक् टोन राखुँ न भनेर अनुमति माग्ने गर्छन् । त्यसैले मैले कलाकार वा मेरा फिल्मका क्रू मेम्बरलाई मैले जबरजस्ती राखौँ भनेको होइन । उनीहरु आफै रुचि राखेर गीत मागेका हुन्", सगर्व बताउँछन्, नायक भुवन केसी ।
यति धेरै व्यक्तिको रिङ ब्याक् टोन भइसकेपछि आधाउधि त गीत हिट भइसक्यो, बाँकी आधा चाहिँ रेडियो र टीभीले बनाइहाल्छन् । वाह ! क्या आइडिया छ आइडिया किङ भुवन केसीको !! कसैले गीत हिट गराउने फर्मूला त उनबाट सिकोस् !!!

0 Comments:

 

© Deependra | Deependra