Google
Free Image Hosting

Sunday, March 16, 2008

संविधानसभा चुनाव अनि कलाकार

सधैजसो राजनीतिक दलका नेताहरूको चर्को बहस चल्ने प्रधानमन्त्री निवास बालुवाटार शनिबार भने कलाकर्मीको जमघटले गर्मियो । आफूलाई राजनीतिबाट अलग सम्झने अनुहारमा पनि राजनीतिक उत्साह छाएको थियो । नजिकिँदो संविधानसभा चुनावको विषयमा प्रधानमन्त्रीसँग अन्तरक्रिया गर्न बालुवाटार पुगेका कलाकर्मीले आफूलाई राजनीतिबाट अछुतो नभएको ठाने । 'कलाकार र हाम्रो दुनियाँ अलग हो । तर, यी दुवै दुनियाँ एक भएर लाग्ने हो भने संविधानसभाको चुनाव सफल हुन्छ,' प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले यसो भन्दा गौरव महसुस गरिरहेका थिए कलाकार । प्रधानमन्त्री निवासमा उपस्थित सबैलाई 'क्रेडिट' दिए कोइरालाले । 'राष्ट्र अप्ठ्यारो परिस्थितिमा फस्दा कलाकारिता क्षेत्रबाट सधँ सहयोग पाउने गरेको छ,' प्रधानमन्त्रीले फुक्र्याए, 'आन्दोलनमा तपाईंहरूको सहभागिताले राजनीति र कलाकारितालाई एउटै पक्षको आभास गरायो ।' कला क्षेत्रको योगदानको चर्चा भ्याएपछि कोइरालाले सबैलाई आफ्नो दुनियाँ छाडेर चुनावी माहोल तयार पार्न आग्रह गरे । 'तपाईंहरू सबै उत्साहपूर्वक चुनावको प्रचारमा लाग्नूस् सफलता अवश्य हात पर्छ,' उनले भने । नेपाल साँस्कृतिक संघका सभापति तीर्थ थापाले कलाकारलाई आँखाको नानी र मुटुको धड्कनको रूपमा व्याख्या गरे । सामाजिक दायित्व सम्झेर चुनाव प्रचारमा सबै लाग्नुपर्ने उनको भनाइ थियो । 'कम्तीमा एक साताअघि सबैजना आफ्नो गाउँ जाऊँ । चुनावी माहोल बनाऊँ,' थापाले भने । कलाकारहरूको प्रतिनिधित्व गर्दै मन्तव्य राख्ने मौका पाएका मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य भने चुनावी चेतनामा आफूहरू लामो समयदेखि क्रियाशील रहेको बताए । अघिल्ला वक्ताहरूले गरेको प्रधानमन्त्रीको तारिफप्रति असहमति देखाउँदै आचार्यलेे भने, 'काम फत्ते नभई नेताहरूलाई महान् बनाउने बेला भएको छैन ।' जनताको भाग्य प्रधानमन्त्रीसँग जोडिएको बताउँदै चुनाव सफल बनाएर जनता र आफू दुवैको भाग्य चम्काउन आचार्यले आग्रह गरे । कार्यक्रममा प्रधानमन्त्रीले साँस्कृतिक संघले उत्पादन गरेको संविधानसभासम्बन्धी गीति क्यासेट विमोचन गरेका थिए । त्यसैगरी, 'मह' जोडी र गायक आनन्द कार्कीले संविधानसभाकै विषयमा तयार पारेको आ-आफ्नो सिर्जना प्रधानमन्त्रीलाई सुम्पिए । जुनसुकै सत्तासँग सम्बन्ध पनि राख्न माहिर कलाकार कृष्ण मल्ल भने कार्यक्रम सकिएपछि पनि प्रधानमन्त्रीकै अघिपछि गरिरहेका थिए । दर्शकले सँगै तस्बिर खिच्न आग्रह गर्दा तर्किन खोज्ने कलाकार पनि प्रधानमन्त्रीसँग कुम जोडेर फोटो खिच्न चुकेनन् । केही दिनअगाडि 'संविधानसभा र चलचित्रकर्मी' विषयक अन्तरक्रियामा सरकारले कहिल्यै पनि चुनावी प्रचारमा सहयोग गर्न कलाकारसँग आग्रह नगरेकोमा गुनासो पोख्ने युवराज लामा सो कार्यक्रममा देखापरेनन् ।

0 Comments:

 

© Deependra | Deependra