सिनेमाको पर्दामा त आफ्नी प्रेमिकाका लागि जस्तोसुकै त्याग गर्न पनि प्रेमी अर्थात् नायक हरसमय तयार हुन्छन्। यो चोखो प्रेममाथिको उदाहरण पनि हो। तर, वास्तविक जीवनमा नै एक नायकले अर्की नायिकाका लागि फिल्म दिलाउन ठूलै कसरत मात्र नगरी उनलाई नखेलाउने भए म पनि खेल्दिनँ भनेर ढिपी कसे भने यसलाई कुन रूपमा लिने? यस्तै गरे नायक विराज भट्टले नायिका रेखा थापाका लागि। विराजको बजार नहुँदाखेरि पनि निर्मात्री प्रज्ञा जोशी र निर्देशक योगेश घिमिरेले उनलाई चलचित्र 'सपूत'मा लिएर राम्रै प्रचार–प्रसारसमेत दिलाएका थिए। तर, विराजलाई आफ्नो ठान्ने चलचित्र सपूतको युनिट त्यतिबेला जिल्ल पर्योल जब विराजले आगामी चलचित्रमा रेखा थापालाई लिए मात्र आफूले समय दिने अड्डी कसे। यतिबेला सिनेमा उद्योगमा आफू नभए सिनेमा नै नबन्ने र आफूले जे भन्यो त्यही कुरा निर्माताहरूले मान्ने छन् भन्ने विराज भट्टको सोचले पनि अहिले मार खाएको छ। आफ्नो हातमा आएको चलचित्रमा रेखाको सिफारिस गर्दै हिँड्ने विराजले अन्ततः रेखा त परै जाओस् आफैं पनि प्रज्ञाको नयाँ दुई चलचित्रबाट आउट हुनुपरेको छ। तर, बजारमा भने विराजले आफूले ती चलचित्रहरू छोडेको हल्ला चलाउन थालेका छन्। 'यसले छोडेको होइन, हामीले निकालेका हौं। रेखा थापालाई खेलाउने भए त विराज जुन बेला पनि खेल्न तयार छन् नि। तर, हामी यस्ता नायकको डिमान्ड पूरा गर्न सक्दैनौं। ऊभन्दा एक से एक कलाकार छन् यहाँ,' निर्मात्री प्रज्ञा जोशीको आक्रोश छ। विराज भट्टले नायिका रेखा थापामाथि देखाएको यस्तो सहानुभूतिले अर्को कुरा पनि के प्रस्ट गरेको छ भने सबै निर्देशक र नायकसँग नराम्रो सम्बन्ध भएपछि रेखा अहिले विराजको शरणमा पुगेकी छिन्। तर, विराज आफैं त महादेव उत्तानो टाङ भनेजस्तो अवस्थामा रहेको समयमा उनले पनि रेखाका लागि कुनै पनि राहत प्रदान गर्न नसक्ने भएका छन्। अहिले नायिका रेखा थापा कार्यक्रम देखाउने सिलसिलामा जापान पुगेकी छिन् तर यता नेपालमा रहेका विराज भट्टसँग भने उनको बारम्बार गफ भइरहने गरेको छ, 'कुनै फिल्म मिल्यो' भन्दै ठूलो आशाले रेखाले गर्ने गरेको फोनको यतिबेला कुनै अर्थ नै छैन। चलचित्र निर्माता छवि ओझाकी श्रीमती रेखाले फिल्म खेलाइदिन आफ्नै श्रीमानलाई भन्न छोडेर किन नायकसँग गुहार मागेकी होलिन् ? कुरा गहिरो छ है ?
0 Comments:
Post a Comment